
नेपाल उद्योग परिसंघ (सीएनआई) को अन्तर्राष्ट्रियस्तरको दोस्रो ‘महिला नेतृत्व सम्मेलन’ आज हुँदैछ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सीएनआईको ‘उमन लिडरसिप फोरमले’ सम्मेलनको आयोजना गरेको हो ।
होटल सोल्टीमा हुने सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नौ बजे गर्ने तयारी छ ।
सम्मेलनमा ‘टेक्नोलोजी एन्ड इनोभेसन’, ‘उमन इन सस्टेनेबल एग्रिकल्चर’, ‘इन्भेस्टिङ इन उमन’, ‘बियोन्ड बाउन्ड्रिज’ विषयमा सत्रगत रूपमा छलफल हुनेछ ।
सम्मेलनमा परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने र नेपाल सरकार, सरोकारवाला निकायहरूले लिनुपर्ने नीतिगत विषयमा छलफल हुने छ ।
त्यस्तै, सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरण लगायत क्षेत्रमा स्थापित, रूपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त महिला सहित करिब ५ सय जनाको सहभागिता हुने सीएनआई महिला नेतृत्व फोरम सभापति छाया शर्माले जानकारी दिइन् ।