काठमाडाैं, चैत २ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरूले एक पटक आत्मसमीक्षा गर्न आवश्यक रहेको बताएका छन् ।

समाजवादी मोर्चाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्र पक्षधरहरूले जनतासँग आफ्नो सम्पर्क बलियो बनाउन आवश्यक रहेको बताए ।

‘हामीले महसुस गरेको कुरा के हो भने, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरूले एकपटक आत्मसमीक्षा गर्नुपर्छ,’ उनले भने, ‘विगतमा भएका त्रुटिहरू सुधार्दै अघि बढ्नुपर्छ । जनतासँग प्रत्यक्ष संवाद गर्न आवश्यक छ ।’

प्रचण्डले समाजवादी मोर्चा सरकारमा जाने टेकोका रूपमा निर्माण गरिएको होइन भन्ने स्पष्ट गर्दै मोर्चा फागुन २५ गतेको राजावादी प्रदर्शनपछि मात्र सक्रिय बनाइएको भन्ने आरोप पनि असत्य नभएको दाबी गरे ।

‘समाजवादी मोर्चा कुनै रियाक्सन वा कम्पनको जवाफ होइन,’ उनले भने, ‘हामीले यो मोर्चा राम्रो सोच र योजनासहित बनाएका हौं। फागुन २५ पछि मात्र बनेको भन्ने गलत हो ।’

उनले समाजवादी मोर्चा जनताको आवाज सुन्ने, त्रुटिहरू सुधार्ने र भविष्यको बाटो तय गर्ने मञ्च भएको दाबीसमेत गरे । उनले गणतन्त्र पक्षधरहरूबीच संवाद भइरहे पनि सरकार विपक्षी दलहरूलाई अघि बढ्न सघाउन अनिच्छुक रहेको बताए । ‘सरकारमा भएका वा नभएकासँग छलफल भइरहेको छ, तर सरकारले विपक्षी दलहरूको भूमिका सुदृढ गर्न आवश्यक पहल नगरेको देखिन्छ,’ उनले भने ।