
फाइल फोटो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका जायज मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा अध्यक्ष दाहालले शिक्षकमैत्री नीतिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
‘अहिले विधेयकमा जति संशोधन दर्ता भए पनि धेरैजसो एउटै प्रकृतिका छन्। उपसमिति बनाएर भए पनि विधेयक तत्काल पारित गर्न सकिन्छ,’ उनले भने, ‘मुख्य कुरा इच्छाशक्ति हो। शिक्षा र शिक्षकलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ।’
देशको समृद्धिको मुख्य आधार शिक्षा भएकाले शिक्षकका मागलाई गम्भीरतापूर्वक लिने आवश्यकता रहेको अध्यक्ष दाहालको भनाइ थियो। साथै, विद्यालय शिक्षा विधेयक पारित गराउन माओवादी केन्द्रले विशेष भूमिका खेल्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।