
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको लागि आफू तयार रहेको बताएका छन् । तर यसका लागि पुटिनले केही कडा सर्तहरू राखेका छन्।
राष्ट्रपति पुटिनले विवादको एउटा क्षेत्र कुर्स्क जहाँ युक्रेनले गत वर्ष सैन्य घुसपैठ गरेको र केही भाग कब्जा गरेको भन्दै त्यसलाई मुक्त हुनुपर्ने जनाएका छन् ।
कुर्स्कमा युक्रेनसँग दुई विकल्प रहेको भन्दै पुटिनले या त आत्मसमर्पण गर या मर भनेका छन् ।
यसअघि युक्रेनले अमेरिकासँगको वार्ताका क्रममा ३० दिने युद्धविराम योजनामा सहमति जनाएको थियो ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राष्ट्रपति पुटिनको योजनालाई षड्यन्त्रकारी भएको आरोप लगाएका छन् । युक्रेनी राष्ट्रपतिले रुसमाथि थप प्रतिबन्ध लगाउन आह्वान समेत गरेका थिए ।
यसैबीच, अमेरिकाले तेल, ग्यास र बैंकिङ क्षेत्रका सम्बन्धमा रुसमाथि थप प्रतिबन्ध लगाएको छ।
बिहीबार मस्कोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति पुटिनले युद्धविराम घोषणाको आफुहरुले समर्थन गर्ने तर केही प्रश्नहरूबाँकी रहेकाले छलफल गर्न आवश्यक रहेको जनाए ।
पुटिनले भनेका छन् यो युद्धविरामले शान्ति स्थापना र यस संकटको मूल कारणहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले त्यसका लागि आफुहरु अमेरिकी सहयोगीहरूसँग कुरा गर्नुपर्ने भन्दै डोनाल्ड ट्रम्पसँग कुरा गर्ने पनि बताएका छन् ।
पुटिनले ३० दिनको युद्धविराम युक्रेनको लागि राम्रो हुने उल्लेख गरेका छन् । -बीबीसी