
दाङको दङ्गीशरण गाउँपालिका- ६ स्थित सिद्धपृथ्वी जनता क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा अखिल (क्रान्तिकारी) का उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गरेपछि निर्विरोध नेतृत्व चयन भएको छ ।
नयाँ कार्यसमितिको सभापतिमा सुदीप चौधरी, उपसभापतिमा पूर्णिमा चौधरी, सचिवमा मनाङकिता कक्रेल, सहसचिवमा कोमल खड्का र कोषाध्यक्षमा सीता चौधरी चयन भएको क्याम्पस प्रमुख मनिराम चौधरीले जानकारी दिनुभयो । सदस्यहरुमा सुस्मिता चौधरी, सविता चौधरी, सङ्गीता चौधरी निर्विरोध चयन भएका छन ।
सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा आचार्य
जुम्लाको सिञ्जा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का सन्तोष आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
चार वटा विद्यार्थी सङ्गठनको सहमतिका आधारमा मङ्गलबार आचार्य सभापतिमा निर्वाचित भएको निर्वाचन अधिकृत तीर्थबहादुर नेपालले जानकारी दिए ।
उपसभापतिमा अनेरास्ववियु विद्यार्थी सङ्गठनका महेन्द्रराज बम र सचिवमा नेविसङ्घका राजिन्दा शाही निर्वाचित भए । कोषाध्यक्षमा अखिल समाजवादीका तुलराज तिरुवा र सदस्यहरुमा नेविसंघका राजन बम, अखिल समाजवादीका मोहन भण्डारी र सोविन्द बम निर्विरोध निर्वाचित भएको जनाइएको छ ।
कृष्णबैजनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भट्ट
कञ्चनपुको शुक्लाफाटाँ नगरपालिका- १० झलारीमा रहेको कृष्णबैजनाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा करनप्रसाद भट्ट चयन भएका छन् ।
नेपाल विद्यार्थी सङ्घका भट्ट सर्वसम्मतिका आधारमा अध्यक्षमा चयन भएका हुन् । साथै सचिवमा अखिल क्रान्तिकारीका मनिषा धानुक, कोषाध्यक्षमा अनेरास्ववियुका प्रवीन धामी सर्वसम्मत रुपमा चयन हुनुभएको क्याम्पस प्रमुख भवराज निरौलाले जानकारी दिए ।
उनका अनुसार स्ववियुको सदस्य पदमा नेपाल विद्यार्थी सङ्घका सङ्गीता भट्ट, हेमराज भट्ट, अखिल क्रान्तिकारीका मोहन बोहरा, गणेश पन्त र अनेरास्ववियुका मञ्जु औजी सर्वसम्मत रुपमा चयन भएका छन् । उपाध्यक्षमा भने पछि निर्णय गरिने जनाइएको छ ।