
भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो ।
यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर चार र भित्र आठवटा लाइनको व्यवस्था गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख ईश्वर भण्डारीले जानकारी दिए । सबै लाइनबाट छिटोभन्दा छिटो भक्तजनलाई दर्शन गराएर फिर्ता गराउने गरिएको कोषले जनाएको छ ।
मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड- दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी- इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली- गौशाला तथा एयरपोर्ट- तिलगङ्गा भएर पिङ्गलास्थान- सुमार्गी भवन हुँदै चार शिवालय- पञ्चदेवल दक्षिण ढोकाबाट एक-एक लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकतानुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाइएकाे छ । नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोही मार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वर, नागेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।
यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि आशुतोष भगवान् शिवको धुमधामका साथ पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।