काठमाडौं, फागुन १३ :

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को रिक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा आवेदन माग गरिएको छ । अर्थ मन्त्रालयले सोमबार सूचना जारी गर्दै खुला प्रतिस्पर्धाको आधारमा छनौट गर्ने गरी आवेदन खुलाएको हो।  सीईओ पदमा आवेदन दिनेको उम्मेदवार उम्मेदवार ३० वर्ष उमेर पूरा भई ६५ बर्ष ननाघेको हुनुपर्नेछ ।

साथै योग्यता धितोपत्र बाजार सञ्चालन नियमावली २०६४ बमोजिमका पूरा भएको हुनुपर्ने उल्लेख छ । नियमावलीमा सीईओ हुनका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सोसरहको उपाधि हुासिल गरी पुँजीबजार वा वित्त क्षेत्रमा कम्तीमा ७ वर्षको उच्च व्यवस्थापकीय तहमा अनुभव भएको हुनुपर्नेछ ।

सिफारिस समितिले उम्मेदवारको व्यावसायिक कार्ययोजनामा ४० अंक, शैक्षिक योग्यतामा १२ अंक, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणमा १८ अंक र अन्तर्वार्तामा ३० अंकसम्म दिन सक्नेछ। समग्रमा उम्मेदवारको अंकमा १ सय रहेको छ।सोही अंकमा आधार रहेर सिफारिस समितिले उम्मेदवारबाट सीईओ नियुक्तिका लागि मन्त्रालयलाई सिफारिस गर्नेछ ।

सिफारिस समितिले पहिलो चरणमा आवेदन परेका उम्मेदवारहरूबाट पाँच जनालाई व्यावसायिक कार्ययोजनाका प्रस्तुतीकरणका लागि छनौट गर्नेछ ।

प्रस्तुतीकरणबाट उमेदवारले प्राप्त गरेको प्राप्तांकअनुसार समितिले पुनः ५ जनाबाट तीन जनाको नाम छनौट गरेर मन्त्रालयलाई एक जना नियुक्तिका लागि सिफारिस गर्नेछ। सीईयो नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयले आइतबार नै सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाइसकेको छ ।