काठमाडौं, फागुन ९ :

नेपाल फोर नेसन्स अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा लेबनानलाई १-० ले हराउँदै एक खेलअगावै फाइनलमा स्थान बनाएको हो। नेपालको जितमा सावित्रा भण्डारी साम्बाले गरेको गोल नै निर्णायक बन्यो ।

यो नतिजासँगै नेपालले दुई खेलबाट ६ अंक पुर्‍याएको छ । म्यानमारले पनि समान खेलबाट ६ अंक पुर्‍याएको छ । तर, गोलअन्तरमा भने म्यानमार अगाडि छ । अब यी दुई टोलीले लिगचरणको अन्तिम खेल आइतबार खेल्नेछन् ।

चार खेलाडी परिवर्तन गर्नै मैदान उत्रिएको लेबनानले आक्रामक सुरुआत गरेको थियो।  त्यसपछि नेपालले पनि आक्रामण सुरु गर्‍यो । नेपाललाई अग्रता लिन भने ४२औं मिनेटसम्म कुर्नुपरेको थियो । 

साम्बाले पेनाल्टी बक्सभन्दा बाहिरबाट प्रहार गरेको बल लेबनानी डिफेन्डरलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत हुन पुग्यो । लेबनान र किर्गिस्तान भने एक खेलअगाबै प्रतियोगिताबाट बाहिरिएका छन्। समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीच नै प्रतिस्पर्धा हुनेछ ।