
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक (सिनेट)ले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकले रजिष्ट्रार प्रा श्याम लम्सालद्वारा प्रस्तुत नीति, योजना, कार्यक्रम र बजेटसम्बन्धी प्रस्तावहरू छलफलसहित स्वीकृत गरिएका हुन् ।
प्रतिष्ठानले हाल तीन सय ३० बेडको व्यवस्थाअन्तर्गत विभिन्न विषयमा विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्दै आएकामा आगामी दिनमा चार सय बेडको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरूयोजना पारित गरेको छ । सोका लागि अर्थ मन्त्रालयमा स्रोत सुनिश्चितताको प्रक्रिया अघि बढेको छ ।
बैठकले प्रतिष्ठानको सभा सदस्यमा पदेन पदाधिकारीका अतिरिक्त दलित, आदिवासी र जनजाति तथा पिछडिएका वर्गबाट प्रतिनिधित्व हुनेगरी कार्यकारी परिषद्को सिफारिसमा बलीभद्र राना, श्रीप्रकाश श्रेष्ठ, यमुना थापा मगर, सुशीला चौधरी, चन्दादातामध्येबाट सुदीप गौतम र कर्मचारीमध्येबाट विनोद दाहाललाई मनोनयनको निर्णय गरेको छ ।
यस्तै बैठकले प्रतिष्ठानको स्वामित्वको अतिक्रमित जग्गा खाली गराई उपयोग ल्याउन, कार्यकारी परिषद् सदस्यमा मनोनयन र कर्मचारी सेवा, शर्त नियमावलीलाई विस्तृत गृहकार्य गरी आगामी बैठकमा पेस गर्न निर्देशन दिएको छ ।