काठमाडौं, फागुन २ :

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक सातापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने भएका छन् । आगामी बिहीबार हुने दुई ठुला राष्ट्रका प्रमुखबीचको भेटघाट हर्षोल्लास र मित्रवत वातावरणमा हुने जनाइएको छ।

मोदीको यस भ्रमणमा विशेषगरी दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल केन्द्रित हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । साथै प्रधानमन्त्री मोदीले भारतीय आप्रवासीहरुको बारेमा पनि गम्भीर रुपमा चासो राख्ने जनाइएको छ ।

अवैध रुपमा अमेरिकामा बसेका झन्डै १ सय जना भारतीय आप्रवासीलाई फिर्ता पठाइएको छ। ट्रम्पले सत्ता सम्हाले लगत्तै आप्रवासीको नीतिमा कडाई गरेका छन् । 

पछिल्लो केही वर्षमा मोदी र ट्रम्पको व्यक्तिगत सम्बन्ध निकै राम्रो रहेको छ। दुवैका बीचमा धेरै उच्चस्तरीय बैठकहरू भएका छन्। साथै, उनीहरू विभिन्न मञ्चहरूमा पनि एक साथ देखिएका छन्।

मोदी र ट्रम्पको पहिलो भेट २०१७ मा वाशिङटनमा भएको थियो, र त्यसपछि भएका कार्यक्रमहरूले दुवै बीचमा एक दृढ मित्रता निर्माण गरेको छ। ह्यूस्टन र अहमदाबादमा आयोजित भव्य रैलीहरूमा पनि यी दुई एक साथ देखिएका थिए।