
‘नो केबलकार समूह’का प्रदीप मादेनलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नेत्रप्रसाद शर्मालाई गालीगलौज तथा ज्यान मार्ने धम्की दिएको आरोपमा मादेनलाई मंगलबार बिहान पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
पाथीभरामा भएको झडपको विषयलाई लिएर मेची राजमार्ग र तमोर करिडोर यातायात बन्द आह्वानको अगुवा गरेका मादेनलाई प्रहरीले सदरमुकाम फुङलिङको कोप्चेबाट पक्राउ गरेको हो ।
पाथीभरामा भएको झडपमा मादेनले आन्दोलनकारीको नेतृत्व गरेको प्रहरीको आरोप छ । उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
पाथिभरा क्षेत्रको बलुडाँडामा सोमबार केबलकारको विरोधमा रहेको पहिचान पक्षधर र प्रहरीबीच दोहोरो झडप भएको थियो । त्यसबखत प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारी घाइते भएका थिए ।
केबलकारको विपक्षमा रहेको पहिचान पक्षधरले आजदेखि ताप्लेजुङ र प्रवेश नाकामा अनिश्चितकालीन बन्द घोषणा गरेको छ । बन्दका कारण यातायात प्रभावित बन्न पुगेको छ । योसँगै सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।