स्याङ्जा, माघ १६ :

भीरकोट नगरपालिका- ४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल सात वर्ष पुग्न लाग्दा पनि निर्माण सम्पन्न हुनसकेको छैन ।

भीरकोट- ४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्नेगरी आँधीखोलामा निर्माणाधीन पुलको तेस्रोपटक थपिएको समयावधि सकिए पनि पुल सम्पन्न हुनसकेको छैन ।

वि. सं २०७५ असार २६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त पुल २०७८ वैशाख ३० गते निर्माण सक्नुपर्ने भए पनि हालसम्म निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर दीपक विष्टले बताए ।

तोकिएको समयमा पुल निर्माण नसकिएपछि तेस्रोपटक २०८१ मङ्सिरमा सक्नेगरी थपिएको समय पनि सकिएको छ । पटकपटक गरी तेस्रोपटक थपिएको समयावधि मङ्सिरमा सकिएपनि पुल निर्माण सकिएको छैन् ।

निर्माण कम्पनीले भ्याटसहित १४ करोड २६ लाख ३७ हजार चार सय २० लागतमा निर्माण सक्नेगरी सम्झौता भएको थियो । एक सय २५ मिटर लम्बाइको पुल तीन स्पानको हुने इञ्जिनियर विष्टले बताए ।

चालिस- चालिस मिटरको तीन स्पान मध्ये दुई किनाराका दुईवटा स्पान निर्माण सकिएको र बीचको एउटा स्पान र त्यहाँसम्म पुग्ने दुवैतर्फको पहुँचमार्ग निर्माणको काम बाँकी छ । पुलसम्म पुग्ने पहुँचमार्ग निर्माणका लागि पुलसँगै पर्खाल लगाउने काम अहिले भइरहेको छ ।

निर्माण व्यवसायी चन्द्र थकालीले अब दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कामदार परिचालन गरिएको जानकारी दिए ।