बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कर्णाली प्रदेश अर्थतन्त्र

कर्णालीको परिचय बदल्न युवाहरुको संकल्प जरुरी छ : मुख्यमन्त्री कँडेल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ माघ, २०८१ मा प्रकाशित
कर्णालीको परिचय बदल्न युवाहरुको संकल्प जरुरी छ : मुख्यमन्त्री कँडेल
सुर्खेत, माघ १२ :

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको परिचय बदल्न युवाहरुको साथ र संकल्पको जरुरी रहेको बताएका छन् ।

वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु कर्णाली युवा महोत्सवको उद्घाटन गर्दै उनले सरकारको एकल प्रयासले मात्र कर्णालीको विकास र समृद्धिको यात्रा सफल नहुने बताए ।

मुख्यमन्त्री कँडेलले प्रदेश सरकारलाई निश्चित बजेट र स्रोतसाधनका आधारमा काम गर्नुपर्ने बाध्यता रहेको औंल्याए । ‘सबै पक्षलाई समेटेर लैजाने प्रयास गरेको छु, युवाको सकारात्मक साथ आवश्यक छ,’ उनले भने, ‘मैले कहिल्यै कर्णालीको शिर निहुर्‍याउने काम गर्ने छैन । प्रदेशको विकासमा युवाहरुलाई साथमै राख्नेछु ।’ साथै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले व्यवस्थाविरोधी चिन्तन नराख्न युवाहरुलाई आग्रह गरे ।

युवा महोत्सवलाई सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले युवाहरुले निराशाको खेती गरेर नागरिकलाई पछि धकेल्ने काम गर्न नहुने बताइन् । ‘राज्यले के गरेको छ ? भनेर निराशा छर्ने काम भएको छ, कोभिडजस्तो भयावह अवस्थामा पनि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीले नागरिकको सुरक्षाका लागि फ्रन्टलाइनमा आएर राज्यप्रतिको दायित्व पूरा गरेको उदाहरण प्रस्तुत गर्दै युवाहरुले समाजलाई भ्रम छर्ने खालका गतिविधिमा नलाग्न आग्रह गरिन् ।

राम्रा पक्षलाई उजागर गर्ने र गल्ती कमजोरीलाई सच्याउन आग्रह गर्नुपर्ने उनको भनाइ छ । ‘अहिलेको युवाहरुमा केही समस्या छन्, फेसबुक लाइभमा बसेर समय खेर फालिरहेका छन्, घरमा बसेर फेसबुकमा गाली गरेर हैन, सिर्जनशील बन्नुपर्छ, उद्यमशील बन्नुपर्छ,’ ढकालले भनिन्, ‘जो व्यक्तिको मनमा सधैं निराशा हुन्छ, त्यस्तो व्यक्तिबाट समाज रुपान्तरण सम्भव हुँदैन, आशावादी हुनुपर्छ ।’

साथै नगर प्रमुख ढकालले विदेश सोचेजस्तो नभएकाले युवाहरुले विदेश मोह त्याग्नुपर्ने सुझाव दिँदै भनिन्, ‘आफ्नो खेतीयोग्य जमिनलाई बाँझो राखेर राज्यलाई गाली गरेर युवाले केही पाउँदैनन् यस्तो प्रवृत्तिले देशको पनि विकास हुँदैन ।’ त्यस्तै नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले कर्णालीका नागरिकहरुले केही गर्न सक्दैनन् भन्ने सोच बदल्नुपर्ने बताए । ‘कर्णालीबारे सोच बदल्न आवश्यक छ, कर्णाली सम्भावनाको क्षेत्र हो, कर्णालीको कृषि, पर्यटनमा धेरै सम्भावना भएको प्रदेश हो,’ उनले भने, ‘तर आज कर्णालीका गाउँहरु खाली भएका छन्, युवाहरु विदेशिएका छन् । हामीले मिहिनेत गर्ने हो भने कर्णालीको माटोमा सुन फलाउन सकिन्छ ।’

नेता शाहीले कर्णाली बदल्नका लागि राजनीतिक दलहरु र बौद्धिक वर्गलाई दलीय स्वार्थभन्दा माथि उठ्न आग्रह गरे । राजनीतिक पावरका आधारमा भन्दा पनि साझेदारीका आधारमा यसको विकासमा लाग्न जरुरी रहेको उनको भनाइ छ । ‘युवा रोजगार र समृद्धिका विषयमा सबै एकताबद्ध हुन आवश्यक छ, हामीले युवालाई विदेश नजाउ भनेपनि देशमा रोजगारी दिन सकिने अवस्था छैन्,’ उनले भने । कर्णाली प्रदेश सरकारले युवा वर्गको क्षेत्रमा काम गर्न आवश्यक रहेको भन्दै उनले युवाहरुलाई उत्पादन, उद्यमशीलताका क्षेत्रमा आकर्षण गराउने खालका कार्यक्रमहरुको जरुरी रहेको औंल्याए ।

महोत्सव सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव नन्दा बस्याललगायतले शुभकामना व्यक्त गरेका थिए ।

परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा  शुरु भएको कर्णाली युवा महोत्सव शनिबारसम्म चल्नेछ । महोत्सवमा कर्णालीको विकासमा युवाको भूमिका, युवा उद्यमशीलता र सिर्जनशीलतालगायत विषयमा प्रेरणादायी सत्रहरु सञ्चालन हुनेछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार