
चालु आर्थिक वर्ष ०८०/८१) सुरु भएयता हालसम्म आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहाकारी तथा प्राकृतिक स्रोत समितिमा बुधबार गृह मन्त्रालयका सहसचिव टोकराज पाण्डेले आगलागीका १४ सय ४२ घटनामा २२ जनाको मृत्यु भएको बताए ।
उनका अनुसार आगलागीका घटनामा मृत्यु हुनेमा ६ पुरुष र १६ महिला छन् । उनले यही अवधिमा आगलागीका घटनाबाट १६ सय ५६ घर परिवार प्रभावित भएको जानकारी दिए । आगलागीले ८८ घरमा आंशिक र २२८ घरमा पूर्ण क्षति हुँदा ६७ करोड २६ लाख १० हजार १ सय ५३ रुपैयाँ बराबरको क्षति भएको सहसचिव पाण्डेले उल्लेख गरे ।
सहसचिव पाण्डेले २०८० को फागुनदेखि वैशाख मसान्तसम्म आगलागीबाट ५६ तथा डढेलोको घटनाबाट १७ जनाको मृत्यु भएको बताए । उनले सोही अवधि आगलागीमा परी १७९ तथा डढेलोबाट २६ जना घाइते भएको पनि जानकारी दिए ।
उनले उक्त तीन महिनाको अवधिमा आगलागी एवं डढेलोबाट एक अर्ब २३ करोड ७५ लाख ३१ हजार ९६५ रुपैयाँ बराबरको क्षति भएको उल्लेख गरे । उनले नेपालमा लाग्ने डढेलो मानवीय हेलचेक्र्याँई र नियोजित रुपमा लगाउने गरिएको बताए ।
आगलागी र डढेलो नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जनचेतना विस्तार र सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने व्यवस्था मिलाइएको पनि सहसचिव पाण्डेले बताए । उनले आगलागीजन्य विपद् न्यूनीकरणका लागि स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिइएको समेत बताए ।
सहसचिव पाण्डेले आगलागी नियन्त्रणका लागि सुरक्षा निकाय तथा वन क्षेत्रका जनशक्तिलाई तालिम प्रदान गर्ने तथा आगलागी नियन्त्रणका लागि सुरक्षा परिचालनको व्यवस्था मिलाइएको जानकारी दिए ।
जिल्लास्तरमा डढेलो तथा आगलागी नियन्त्रणका लागि कार्ययोजना बनाई कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको बताए । २०८१ साउन १ गतदेखिको पहिलो ६ महिनामा एक हजार ६५६ परिवार आगलागीबाट प्रभावित भएका छन् । जसमध्ये आंशिक ८८ र पूर्ण क्षति २२८ रहेको छ ।