म्याग्दी, माघ ८ :

म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी भएको छ ।

९५ प्रतिशत भन्दा बढी घरपरिवारमा बिजुलीको सुविधा पुगेको म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न लागिएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर झलकमोहन ओझाले सबै घरपरिवारमा केन्द्रिय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जाको पहुँच पुगेकाले गण्डकी प्रदेश सरकारको मापदण्ड अनुसार उज्यालो जिल्ला घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । 

केन्द्रिय लाइन र लघुु जलविद्युत् परियोजना नभएका कुनै घर भएमा सौर्य ऊर्जा जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने विषयमा पनि स्थानीय तहमार्फत जानकारी गराइएको कार्यालय प्रमुख ओझाले बताए । 

राष्ट्रिय जनगणना- २०७८ को नतिजा अनुसार म्याग्दीमा रहेको २८ हजार आठ सय ३० घरपरिवारमध्ये उज्यालोका लागि ९५ दशमलब एक प्रतिशतले बिजुली, तीन दशमलब चार प्रतिशतले सोलार, शून्य दशमलब पाँच प्रतिशतले मट्टितेल, शून्य दशमलब चार प्रतिशतले बायोग्यास र शून्य दशमलब नौ प्रतिशतले अन्य माध्यम प्रयोग गर्छन् । 

जनगणनाका क्रममा कुनै पनि विद्युत्को सुविधा नपुगेको देखिएको धवलागिरि गाउँपालिकाको मराङ, सिम्कोस, अर्चे, वारवाङ, नाउरा, जुरुकोषछहरीका एक सय २० र मालिका गाउँपालिकाको जेमका एक सय घरमा प्रदेश सरकारको बजेटबाट सौर्य ऊर्जा जडान गरिएको थियो । 

तीमध्ये अधिकांश बस्तीहरुमा अहिले केन्द्रिय प्रशारणलाइनको विद्युत् पुगिसकेको छ ।