
निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नं ७ को रेश पुग्ने सडक कालोपत्र भइसक्ने थियो ।
गाउँपालिकामा पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि अझै अधुरै छ । सम्झौताको छ वर्ष बित्दा पनि सडक कालोपत्र नभएपछि स्थानीयलाई यात्रा गर्न सास्ती छ । उक्त सडक बरेङं- शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन् ।
वि. सं २०७६ मा तीन वर्षमा सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता भएको सडक चौथो पटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो । अहिले सडकमा बनाइएको पूर्वाधार बिग्रन थालेको छ भने सडकमा बिछ्याइएको ग्राभेल बर्खाको पानीले बगाएको छ ।
काठेखोला गाउँपालिका- ७ का वडाध्यक्ष प्रेम लामिछानेका अनुसार उक्त सडकमा डेढ वर्षदेखि निर्माण व्यवसायी फर्केर गएका छैनन् । सडकको एकलेखेतबाट एक किमी सडकमा नाली पनि निर्माण भएको छैन ।
सम्झौताअनुसार काम भएको भए यतिबेला चिल्लो सडकमा सवारी गुडेका हुन्थे । पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याएको निर्माण व्यवसायीले सडक अलपत्र छाडेर हिँडेपछि निर्माण भइसकेका संरचनामा पनि क्षति भएको छ ।
सङ्घीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रको ठेक्का छ करोड ७१ लाखमा चार किमी सडक कालोपत्रका सम्झौता भएको थियो ।
ठेक्काको म्याद २०७९ जेठमै सकिएको निर्माण व्यवसायीले चौथो पटक म्याद थप गरेर आगामी चैतसम्म पुर्याएको छ ।