काठमाडौं, माघ ६ :

हमासको नागरिक रक्षा एजेन्सीले १५ जनवरी २०२५ मा युद्धविराम घोषणा भएदेखि गाजामा मारिएकाहरूको संख्या १२२ पुगेको जनाएको छ ।

हमासका प्रवक्ता महमुद बसलले मारिनेमा ३३ बालबालिकासमेत छन् । यसबाहेक यही अवधिमा २७० जनाभन्दा बढी मानिस घाइते भएका छन् ।

युद्धविराम लागु हुनुभन्दा अगाडि नै इजरायलले आक्रमण जारी राखेको हमासले आरोप लगाएको छ ।

बालबालिकाका लागि काम गर्ने संयुक्त राष्ट्रसंघको निकाय युनिसेफकी एक कार्यकर्ताले पनि बीबीसीलाई गाजाको आकाशमा उडिरहेका ड्रोनहरूको आवाजले आफू ब्युँझिएको प्रतिक्रिया दिइन् ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाले शनिबार बिहान जारी गरेको एक रिपोर्टमा दक्षिणी गाजाको अल-कारारामा शुक्रबार राति इजरायली आक्रमणमा पाँच जनाको मृत्यु भएको बताइएको छ । यद्यपि, बीबीसीले यो रिपोर्ट पुष्टि गर्न सकेको छैन ।