कास्की, माघ ५ :

डा. निकोलस भुसाललाई छाड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।न्यायाधीश शंकरबहादुर राईको इजलासले डा.भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

जिल्ला अदालत कास्कीमा शुक्रबार उनीविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता भएको थियो । लगत्तै भएको थुनछेक बहसका क्रममा धरौटीमा छाड्न आदेश भएको हाे ।

प्रहरी अनुसन्धानका क्रममा थप तथ्य पुष्टि भएको भन्दै सरकारी वकिलको कार्यालयले अभियोजन पत्र दर्ता गरेको थियो। 

भुसालले प्रहरी काममा व्यस्त रहेको बेलामा अनधिकृत रुपमा सीसीटीभी मनिटरबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गोप्य फोटो अनधिकृत रुपमा खिचेर सामग्रीसहित सार्वजनिक गरेका थिए ।

साइबर अपराध मुद्दामा उनी बिहीबार दोस्रोपटक पक्राउ परेका थिए ।यसअघि उनी गत ७ पुसमा पक्राउ परेका थिए ।