म्याग्दी, माघ ५ :

पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका पाँचवटा वडालाई म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी- मल्लाज सडक स्तरोन्नति भएको छ । 

उकालो र साँघुरो कच्ची सडकमा सवारी साधन सञ्चालनमा असहज हुनुका साथै दुर्घटनाको जोखिम थियो । घुम्ती तथा ग्रेड सुधार र ढलान गरेर सडक स्तरोन्नति गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । 

पर्वत- बेनी खानेपानी योजनाको ट्याङ्कीमाथिमाइनडाँडा क्षेत्रमा तीन सय मिटर सडक ढलान भएको उनले बताए । उक्त योजनाका लागि जलजला गाउँपालिका, वडा नं २, ३ र ४ ले चालु आर्थिक वर्ष २०८१र८२ मा ५० लाख विनियोजन गरेका थिए । 

सडक स्तरोन्नति भएसँगै माझफाँट, बाँसखर्क, लेखफाँट, म्याग्दीको नागी र राम्चेका स्थानीयलाई आवतजावतमा सहज भएको छ । फराकिलो सडक, नाली निर्माण र उकालोमा ढलान गरेसँगै सवारी साधन आवतजावतमा सहज भएको जलजला- ३ का वडाध्यक्ष एकिन्द्र खत्रीले बताए ।