काठमाडाैं, माघ १ :

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपाललाई एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा आज (सोमबार) स्थलगत अवलोकन गरी संस्थाको अक्षय कोष वृद्धि गर्न उक्त रकम दिने घोषणा गरेका हुन् । 

चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँग प्रधानमन्त्री ओलीले छलफल गरेका थिए। सरकारले गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गरेका हुन् ।

नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकामा ओलीले सन्तोष व्यक्त गरे ।रासस