
दक्षिणी युक्रेनी सहर जापोरिजियाका अधिकारीहरूले रुसी गोलाबारीमा १३ जनाको मृत्यु भएको जनाएका छन् । उनीहरुले अरु ३२ जना घाइते भएको दाबीसमेत गरेको बीबीसीले समाचारमा जनाएको छ ।
‘रूसले दिउँसो सहरमा आक्रमण गर्यो । दुई निर्देशित हवाई बम आवासीय भवनहरूमा खसे,’ क्षेत्रीय प्रमुख इभान फेडोरोभले भने ।
बाहिर आएको फुटेजमा एउटा भवनमा आगो लागेको र केही सवारीसाधन जलिरहेको देखिन्छ ।
युक्रेनी राष्ट्रपति भ्लोदमिर जेलेन्स्कीले आफ्ना सहयोगीहरूसँग रुसमाथि ‘आतंकवाद’ विरुद्ध दबाब दिन अपिल गरेका छन् ।
रुसी सेनाले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ ।
बम विस्फोट भएको क्षेत्र बाहिरबाट एक भिडियो सन्देशमा फेडोरोभले भने कि रूसले बुधबार दिउँसो ४ बजे (युक्रेनी समय) बम विस्फोट सुरु गरेको थियो ।
उनले भने- आवासीय भवनहरूलाई दुई निर्देशित बमले लक्षित गरिएको थियो । यसअघि उनले ‘दुई औद्योगिक एकाइहरू’ लाई लक्षित गरिएको बताएका थिए ।