
बझाङ, पुस २० :
बझाङमा जिप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ ।
बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से१ ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख युवराज भण्डारीले जानकारी दिए ।
उनका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिप चालक केदारस्यूँ गाउँपालिका- १ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका- ४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामीको घटनास्थलमा नै मृत्यु भएको छ भने धामीकै नातिनी छ वर्षीया बालिका आकृति धामीको जिल्ला अस्पताल बझाङ ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला अस्पतालका डा विनय जोशीले जानकारी दिए ।