
नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाए । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ ।
नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । योमरी बनाउन आज बिहान सबेरैदेखि नेवार समुदायका महिलालाई भ्याइनभ्याइ थियो ।
यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने गर्दछन । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ । नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।
यसै अवसरमा आज नेपाल समुदायले काठमाडौँको बसन्तपुरमा औपचारिक कार्यक्रम गरी योमरी पूर्णिमा मनाए ।
ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१औँ राष्ट्रिय ज्यापु दिवसमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सबै संस्कृतिभन्दा नेवारी संस्कृति इतिहास, निरन्तरता र मौलिक संस्कृति भएको उल्लेख गर्दै उहाँले ज्यापु संस्कृतिलाई अगाडि बढाउन सफलता मिलोस् भनी कामना गर्नुभयो ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ पुस्तामा पनि नेवारी संस्कृति संरक्षणको चासो बढ्दै गएको बताउनुभयो ।