बागलुङ, मंसिर १० :

कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ । 

अहिले करिडोर भएर भारतका पर्यटक मुक्तिनाथ पुग्न थालेका छन् । भारतका पर्यटकलाई मुक्तिनाथ पुग्ने सबैभन्दा छोटो बाटो कालीगण्डी करिडोर भएको हो । 

करिडोरले भारतीय पर्यटकलाई मुक्तिनाथ पुर्याउने र कालीगण्डकी तटीय क्षेत्रका पर्यटकलाई लुम्बिनीसँग जोड्न सफल भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । 

उहाँले दक्षिण भेगको करिडोरका कारण बागलुङको मुहार नै फेरिएको बताउँदै अहिले सडक धमाधम कालोपत्र भइरहेको बताउनुभयो । 

करिडोरअन्तर्गत बागलुङमा मात्रै ४४ किलोमिटर सडक पर्छ । यस सडकले बागलुङको दक्षिण भेग बलेवा, कुश्मिसेरा, जैदी हुँदै छिस्ती छिचोलेर गुल्मी पुग्ने गरेको छ । 

करिडोर चौडा भएदेखि नै ठूला मालवाहक ट्रक र पर्यटक बोकेका बस गैँडाकोटबाट जैमिनीधाम, बागलुङ कालिका, पञ्चकोट हुँदै मुक्तिनाथ पुग्ने गरेका छन् । 

कालोपत्र सम्पन्न पछि यो क्षेत्रमा सवारीको चाप निकै हुने भन्दै भारतबाट बागलुङ, म्याग्दी र मुस्ताङ भित्रिने छोटो मार्ग यही करिडोर भएको उहाँले बताउनुभयो । 

करिडोरको ट्रयाक खोलेको पाँच वर्षमा विभिन्न खण्डमा स्तरोन्नतिसँगै धमाधम कालोपत्र भइरहेको छ । 

गैँडाकोटबाट चीनको सिमाना कोरला नाकासम्म करिडोरको चार सय ९५ किलोमिटरको २०७६ सालमा नै नेपाली सेनाको सहयोगमा ट्रयाक खुला गरिएको थियो । चीनका पर्यटक करिडोरबाट नै लुम्बिनी आउन थालेका हुन् ।