महोत्तरी, कात्तिक १६ :

दीपावली मुख्य दिन आज लक्ष्मीपूजाका सरसामान जोहो गर्नेहरूका महोत्तरीसहित मिथिला क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ । यस भेगका बजारमा झिसमिसेदेखि नै केराका थाम किन्ने बेच्नेको बजार लागेको छ ।

लक्ष्मीपूजाका लागि स्वागतद्वार बनाउन थम्बा प्रयोग गर्ने मैथिल परम्पराअनुसार जिल्लाका गाउँ, नगर र बस्तीका चोकचोकमा थम्बा किन्नेबेच्नेको भीड नै लागेको छ ।

लक्ष्मीपूजामा बनाइने स्वागतद्वारमा केराको थाम नभइ हुँदैन । त्यसैले अरुबेला खेर जाने थामको आज ठूलो महत्व छ । 

मिथिला क्षेत्रमा दीपावली र छठ पर्वका अवसरमा स्वागतद्वार बनाउन परम्परागत रुपमा अनिवार्यजस्तै रहँदै आएको केराको थाम लाभदायक हुने, केराका थामबाट बनाइएका स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकार जलेश्वर- ४ सुगाका कृष्णचन्द्र झा बताउनुहुन्छ ।

प्रचुर प्रकाश र झिलीमिली भएको घरमा लक्ष्मी त्यही प्रवेशद्वारबाट रङ्गोली कुल्चँदै गृहप्रवेश गरेर धनधान्यले पूर्ण गराइदिने विश्वासले यो पर्व परम्परा चलेको मटिहानी- ७ स्थित लक्ष्मीनारायण मठका सन्त रवीन्द्र दास वैष्णवले बताउनुभयो । 

खासगरी व्यापारिक प्रतिष्ठानहरुले प्रत्येक पसलपसलमा केराका थामको स्वागतद्वार बनाउने गरेका छन् । यो परम्पराले आज महोत्तरीका जलेश्वर, बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलवा  र लोहारपट्टी सहितका नगरका बजार क्षेत्रमा किसानले बिक्रीका लागि केराका थाम पुर्याएका छन् ।

दिवाली पर्वमा एक जोडा केराका थाम चार सय रुपैयाँसम्म बिक्री हुने गरेको किसानको भनाइ छ ।