बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
समाचार प्रदेश बागमती प्रदेश

बाढीले डुबाएको नुवाकोटका घर सफा गर्दै दक्षिण कोरियाली स्वयंसेवक

८४ वर्षीय किम साङ्ग कि पनि सहभागी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ असोज, २०८३ मा प्रकाशित
बाढीले डुबाएको नुवाकोटका घर सफा गर्दै दक्षिण कोरियाली स्वयंसेवक
नुवाकोट, असोज १८ :

विपद्का समयमा एउटा समुदायले अर्को समुदायलाई साथ दिनुपर्छ । सायद, मानवीय सहयोगमा भूगोल वा अन्य कुनै छेकबार हुँदैन, केवल मन भए पुग्छ । विपद्का बेला भौगोलिक सीमाभन्दा माथि उठेर मानवीय सहयोग गर्नुपर्छ भन्ने सन्देशसहित दक्षिण कोरियाबाट आएको स्वयंसेवी टोलीले भोटेकोशी बाढी प्रभावित नुवाकोटको घर सरसफाइ तथा पुनरुत्थानमा गरेको काम स्थानीय समुदायका लागि प्रेरणाको स्रोत बनेको छ ।

गत साता नेपाल आइपुगेको आठ सदस्यीय कोरियाली टोलीले नुवाकोटको विदुर नगरपालिका-१ ढुङ्गेस्थित बजारका घरहरूमा १० दिनसम्म सरसफाइको अनुमति लिएर मजदुर झैँ काम गरिरहेको छ । विदुर-१ का वडाध्यक्ष लेनिन रञ्जितद्वारा प्रदान गरिएको अनुमतिपत्रको प्रतिलिपिलाई सरसफाइ भइरहेको घर अगाडि टाँसेर टोलीले चर्काे घामको वास्ता नगरी घरमा पुरिएको माटो खन्ने, ढुङ्गा फाल्ने, भाँचिएका बिम र काठहरू हटाउनेलगायत काम गरिरहेको छ ।

टोलीले हाल नुवाकोटको ढुङ्गे बजार क्षेत्रमा पुगेर बाढीबाट प्रभावित घर तथा आसपासको क्षेत्रको सरसफाइ गरिरहेको छ । लिडर लि खाङ उको नेतृत्वमा रहेको टोलीमा लि चाइ जुङ्ग, नम हा जिन, सिन जेउङ हुन, किम हो योङ्ग, योन हु योङ, किम साङ्ग कि र लि योङ्ग चोयल सहभागी छन्  । यस समूहमा ८४ वर्षीय किम साङ्ग कि पनि छन् । बुढ्यौली उमेरमा अर्काको मुलुकमा आएर यस्तो काममा लागेको देख्दा स्थानीय समुदायले आफूहरूलाई पनि काम गर्न उत्प्रेरणा मिलेको अनुभव गरेका छन् ।

‘लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ नेपाल’ र ‘लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३५४ डि कोरिया’को संयुक्त आयोजनामा आएको ‘९११ सर्च एण्ड रेस्क्यु’ टिमले बाढीबाट क्षतिग्रस्त घर तथा बस्ती सफा गरी पुनः बस्नयोग्य बनाउने कामलाई तीव्रता दिएको हो । ‘एक समुदाय विपद्मा पर्दा अर्काे समुदायले मानवीय सहयोग गर्नुपर्छ’ भन्ने भावनाका साथ आफूहरू नेपाल आएको टोली नेता लि खाङ उले बताए। विपद्को समयमा प्रभावित समुदायलाई प्रत्यक्ष सहयोग पुर्‍याउनुका साथै सामूहिक प्रयासबाट पुनरुत्थान सम्भव छ भन्ने सन्देश दिन टोली नेपाल आएको उनको भनाइ छ ।

उनले यसअघि नेपालमा गएको विनाशकारी भूकम्पको समयमा पनि आफ्नो टोली उद्धार तथा राहत कार्यमा सहभागी भएको स्मरण गरे । उनका अनुसार ‘९११ सर्च एण्ड रेस्क्यु टिम’ले हालसम्म विश्वका ५४ भन्दा बढी मुलुकमा पुगेर विभिन्न विपद्मा उद्धार तथा विपद् व्यवस्थापनसम्बन्धी काम गरिसकेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ नेपाल र डिष्ट्रिक्ट ३५४ डि कोरियाबीच कायम भएको भगिनी सम्बन्धका आधारमा संयुक्त उद्धार तथा सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

लायन्स डिष्ट्रिक्ट ३२५ आइ नेपालका क्याविनेट सेक्रेटरी अनुजकुमार श्रेष्ठले दुई देशका लायन्सबीचको सम्बन्धलाई मानवीय सेवामा रूपान्तरण गर्न यस अभियानले महत्वपूर्ण भूमिका खेलेको बताए। विपद्का बेला एक देश वा समुदायलाई अर्को देश तथा समुदायले सहयोग गर्ने संस्कारले मानवीय सम्बन्ध र आपसी भाइचारालाई थप बलियो बनाउने उनको भनाइ छ ।

विपद् व्यवस्थापन केवल राज्य वा कुनै एक संस्थाको दायित्व नभई समुदाय, देश र अन्तरराष्ट्रियस्तरमा समेत साझा जिम्मेवारी हो भन्ने उदाहरणका रूपमा कोरियाली टोलीको सेवा कार्यलाई हेरिएको छ । बाढीले घरबार तथा जनजीवन प्रभावित भएका बेला टाढाको देशबाट आएर प्रभावित बस्तीको सरसफाइमा स्वयंसेवा गर्नुले विपद्मा मानवीय एकता र सहकार्यको महत्वलाई उजागर गरेको छ । दश दिने सेवा कार्यक्रमका लागि नेपाल आएको उक्त कोरियाली लायन्स सर्च एण्ड रेस्क्यु टिम आगामी अक्टोबर ७ मा स्वदेश फर्किने टोलीका भाषा अनुवादक अनुपजङ्ग बस्नेतले जानकारी दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाट एक हजार ४५१ को मृत्यु र पाँच हजार ७४५ जना बेपत्ता छन् भने हजारौं घर बगेका छन् । भग्नावशेष व्यवस्थाापनका लागि विभिन्न निकायबाट नुवाकोटको देवीघाट, ढुङ्गे, त्रिशूलीलगायत क्षेत्रमा एक्स्काभेटर, ब्याकहो लोडर, टिप्पर आदि उपकरण र जनशक्ति परिचालन गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार