ललितपुर, असोज ७ :

नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा पार्टी पुर्नगठन गर्नुपर्नेमा केन्द्रीय सदस्यहरुले फरक–फरक मत राखेका छन् । बैठकको तेश्रो दिन बुधबार अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा महासचिव शंकर पोखरेल लगाएतका नेताहरुले पार्टीलाई पुर्नगठनमार्फत सुधार गर्दै अघि बढाउनुपर्ने धारणा राखेका थिए । ओली निकट नेताहरुले भने पुर्नगठनको बहसले तल्लो तहसम्म असर गरेकाले वर्तमान नेतृत्वलाई बलियो बनाएर अघि बढाउनुपर्ने बताएका थिए ।

एमाले नेता ऐन महरले अधिकांश सदस्यहरूले पार्टीलाई एकताबद्ध बनाउने, कार्यशैली र व्यवहारमा सुधार गर्ने तथा जनतासँगको सम्बन्धलाई पुनः मजबुत बनाउने विषयमा जोड दिएको बताए । कार्यकर्तामुखी नेता र जनतामुखी कार्यकर्ता बनाउने गरी पार्टी अघि बढ्नुपर्ने विचार समेत प्रस्तुत भएको उनले जानकारी दिए ।

त्यस्तै एमाले नेता कर्ण थापाले कार्यदलको प्रतिवेदन पार्टी अध्यक्षलाई मन नपरेकै भरमा अस्वीकार गर्न नमिल्ने बताए । बैठकमा महासचिवले कार्यदलको विषय नै छाडेको भन्ने भ्रम सत्य नभएको उनले बताए । उनले कार्यदलको प्रतिवेदनलाई पूर्णरुपमा स्वामित्व लिदै त्यसका सुझावका आधारमा पार्टी पुनर्गठन गर्नुपर्नेमा जोड दिए।

केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखेपछि बिहीबार विधानअनुसार केन्द्रीय कमिटीमा मनोनीत गर्नुपर्ने निश्चित सदस्यहरूको मनोनयन गर्ने,  पोलिटब्युरो तथा स्थायी समितिको गठन, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चहरूको गठन हुने नेताहरुले जनाएका छन् ।