
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व परिवर्तनलाई मात्र पुनर्गठनका रूपमा बुझ्न नहुने बताएका छन्। पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय नभएको उल्लेख गर्दै उनले पार्टीको अवस्था र परिस्थितिको ख्याल नगरी नेतृत्व विस्थापन गर्ने कार्यलाई पुनर्गठन भन्न नसकिने तर्क गरेका छन्।
ललितपुरको भनिमण्डलमा सोमबार दिउँसो १ बजेपछि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले पार्टी पुनर्गठनसम्बन्धी बहस र त्यसका आधारबारे आफ्नो धारणा अघि सारेका हुन्।
‘के हो पुनर्गठन? कस्तो अवस्थामा हुन्छ? के नेतृत्व विस्थापन गर्ने कुरालाई पुनर्गठन भनिन्छ? हाम्रो धारको आन्दोलनमा कति पटक र कहिले–कहिले पुनर्गठन भएको छ भन्ने कुरा हामीले राम्ररी बुझ्न जरुरी छ। पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय होइन,’ ओलीको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्रिय राजनीति, पार्टीभित्रका समस्या तथा आगामी कार्यभारलाई समेटेर तयार पारिएको प्रतिवेदनमा ओलीले विगतमा भएका पार्टी पुनर्गठनका घटनालाई समेत सन्दर्भका रूपमा प्रस्तुत गरेका छन्। उनले केशरजंग रायमाझीको दरबार प्रवेश, झापा आन्दोलन तथा २०७५ सालसम्मका विभिन्न पुनर्गठनका घटनालाई उदाहरणका रूपमा उल्लेख गर्दै अहिलेको अवस्था ती घटनासँग समान नभएको बताएका छन्।
पार्टी कस्तो अवस्थामा छ भन्ने विषयलाई बेवास्ता गरेर नेतृत्व विस्थापन गर्न खोज्नु पुनर्गठन नभएको उनको तर्क छ। प्रतिवेदनमार्फत उनले वर्तमान अवस्थामा पार्टी पुनर्गठनको आवश्यकता र त्यसका आधारबारे आफ्ना धारणा प्रस्तुत गरेका छन्।
यसैबीच,पहिलो दिनको बैठक सकिएको छ। ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि बैठक स्थगित गरिएको एमाले प्रचारप्रसार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
प्रतिवेदन प्रस्तुत गरेपछि ओलीले केन्द्रीय सदस्यहरूलाई अध्ययन गरेर आउन आग्रह गरेका छन्। तीन दिनसम्म चल्ने बैठकको दोस्रो दिन मंगलबार बिहानदेखि पुनः सुरु हुनेछ। मंगलबारको बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राख्नेछन्।