काठमाडौं, असोज ३ :

काठमाडौँको उत्तरपूर्वमा रहेको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल कागेश्वरीधाममा कागेअष्टमीका अवसरमा शनिबार हजारौं भक्तजनहरुले शिवजीको दर्शन तथा पूजाअर्चना गरेका छन् । 

कागेश्वरी मनोहरा नगरपालिका-१ मा अवस्थित उक्त धाममा बिहानैदेखि पूजाआजा र दर्शनका लागि भक्तजनको उल्लेख्य घुइँचो लागेको थियो। आयोजकहरुले बाजागाजासहित भक्तजनहरुको भव्य स्वागत गरेका थिए। 

शिवपुरी जंगलभित्र रहेको यो धाममा हरेक वर्ष कागेअष्टमीका दिन शिवजीको दर्शन गर्न तथा कागदोषबाट मुक्ति पाउनका लागि देशका विभिन्न भागबाट हिन्दु र बौद्ध धर्मावलम्बीहरू ठूलो संख्यामा पुग्ने गर्छन्। विशेषगरी गोसाइँकुण्ड यात्रा पूरा गर्ने श्रद्धालुहरूले आजका दिन कागेश्वरीमा आएर जल चढाउने परम्परा रहँदै आएको छ।

मेलालाई व्यवस्थित र सुरक्षित बनाउन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीसहितको टोलीले केही दिनअघि नै सबै तयारी पूरा गरेको थियो। मेला भव्य, सभ्य र पूर्णरूपमा व्यवस्थित ढंगले सम्पन्न भएको  वडाध्यक्ष मुकुन्द गजुरेलले जानकारी दिएका छन्। उनका अनुसार करिब ६ लाख भक्तजनले कागेश्वरी धामको दर्शन तथा पूजाअर्चना गरेका छन्।

मन्दिर पुग्ने सडकको दायाँबायाँ राखिएका स्थानीय उत्पादनका साथै हस्तकलाका सामग्रीहरुले पनि भक्तजनहरुको ध्यान आकर्षिक गरेको थियो ।

यसै धार्मिक स्थलको नामबाट कागेश्वरी मनोहरा नगरपालिकाको नामाकरण गरिएको हो । यो पवित्र धाम धार्मिकसँगै पर्यटकीय दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। धामभन्दा केही माथि कागको विशाल प्रतिमासहितको 'शान्ति पार्क' समेत निर्माण गरिएको छ, जसले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ। यहाँबाट काठमाडौै उपत्यकाका सबैजसो ठाउँ प्रष्टसँग देख्न सकिन्छ ।