
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा बुधबार सर्वदलीय बैठक बस्ने भएको छ। सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहान ११ बजे बैठक बस्ने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
बैठकले संयन्त्रको गठन, स्वरूप, जिम्मेवारी तथा विपद् व्यवस्थापनमा राजनीतिक दलहरूको भूमिकालगायत विषयमा आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ। यसअघि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने सहमति भएको थियो। तर, अहिलेसम्म पनि गठन हुन नसकेपछि विपक्षी दलका नेताहरुले ध्यानाकर्षण गराउँदै आएका थिए ।
भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको दुई साता बितिसक्दा पनि पीडितको उचित व्यवस्थापन हुन नसकेको भन्दै गुनासो बढेपछि सर्वदलीय तहबाट सरकारलाई सहयोग पुर्याउने उद्देश्यले संयन्त्र गठनको पहल अघि बढाइएको हो।