काठमाडौं, भदौ ३० :

मनोहरा खोलामा सोमबार आएको बाढीले डुबान गरेका क्षेत्रको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले स्थलगत अनुगमन गरेका छन्। 

आज मेयर कार्की नेतृत्वको टोलीले हिजोको भारी वर्षाले प्रभावित भएका वडा नं. ४, ५, ६ र ७ का केही स्थान र मनोहरा खोला किनारका जोखिमपूर्ण क्षेत्रको निरीक्षण गरेको छ। 

अनुगमनका क्रममा बाढीले थुनेका कलभर्टहरू डोजर लगाएर खोल्ने तथा सडकमा थुप्रिएको बालुवा, हिलो र माटो पन्छाउने काम सुरु गरिएको  छ। बाढीले केही स्थानमा सडक भासिनुका साथै कलभर्टमा क्षति पुगेपछि नगरपालिकाले तत्कालै अवरोध हटाउने र जोखिम कम गर्ने काम अघि बढाएको हो। सडकमा थुप्रिएको बालुवा तथा हिलोका कारण आवतजावतमा समेत समस्या भएपछि सरसफाइलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ।

बाढीका कारण भासिएका सडक, क्षतिग्रस्त कलभर्ट तथा डुबानमा परेका क्षेत्रको अवस्थाबारे समेत टोलीले स्थलगत जानकारी लिएको छ। मेयर कार्की नेतृत्वको उक्त टोलीमा नगरपालिकाका प्राविधिक कर्मचारी, नगर प्रहरी तथा स्थानीय प्रतिनिधि पनि सामेल थिए ।

मनोहरा खोलामा अहिलेसम्मकै ठूलो बाढी, किनारका बस्ती डुबानमा

सोमबार दिउँसो परेको भारी वर्षाका कारण मनोहरा खोलामा अहिलेसम्मकै उच्च बहाव आएको नगरपालिकाले जनाएको छ। उच्च बहावका कारण मनोहरा खोला आसपासका विभिन्न बस्तीमा पानी पसेको थियो भने नदी किनारमा रहेका घर तथा टहरा डुबानमा परेका थिए।

भारी वर्षा सुरु भएलगत्तै नगरपालिकाले सूचना जारी गरी सम्भावित बाढी तथा डुबानबाट जोगिन सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको थियो। सोमबार राति नै प्रहरीसँगै नगर प्रहरीको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा जोखिम न्यूनीकरणमा परिचालन भएको थियो।

स्थलगत अनुगमनपछि मेयर कार्कीले बाढी तथा डुबानको जोखिम अझै कायमै रहेकाले मनोहरा खोला किनार तथा जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक परे सुरक्षित स्थानमा जानसमेत सर्वसाधारणलाई अपिल गरेका छन्।