काठमाडौं, भदौ ३० :

इन्द्रजात्राका लागि काभ्रेको नालास्थित जंगलबाट लिङ्‍गोका लागि काटिएको रुख घिसार्दै भक्तपुर ल्याइएको छ । काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो त्यहाँबाट घिसार्दै ल्याउने परम्परा चलिआएको छ। लिङ्‍गो घिसार्ने क्रममा सडकमा सवारीसाधनको जाम समेत लागेको थियो ।

इन्द्रजात्राको मुख्य आकर्षणका रूपमा रहेको लिङ्गो हनुमानढोका दरबार क्षेत्रस्थितमा ठड्याइने गरिन्छ। लिङ्गो ठड्याएसँगै इन्द्रजात्राका विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सुरु हुने गर्छन्।

परम्पराअनुसार लिङ्गो ल्याउने, पूजा गर्ने र ठड्याउने छुट्टाछुट्टै विधि रहेका छन्। लिङ्गो ल्याउने क्रममा विभिन्न बाजागाजा तथा सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने भएकाले यसलाई जात्राको महत्त्वपूर्ण पक्षका रूपमा लिइन्छ।

लिङ्गो ठड्याउने परम्पराले इन्द्रजात्राको औपचारिक सुरुआतको संकेत गर्ने भएकाले यसको धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको संस्कृतिविद्हरू बताउँछन्। इन्द्रजात्रा काठमाडौँ उपत्यकाको प्रमुख सांस्कृतिक पर्व हो।