काठमाडौं, भदौ २९ :

नेपाली कांग्रेस संस्थापन पक्षको निर्णयलाई देउवा समूहले अस्वीकार गरेको छ ।१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुलाई विशेष महाधिवेशनबाट निर्वाचित सरह मान्यता दिने कांग्रेस संस्थापन पक्षले आइतबार गरेको निर्णय इतर समूहले अस्वीकार गरेको हो।

आइतबार बसेको कार्यसम्पादन समितिले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई पनि विशेष महाधिवेशनबाट निर्वाचित उत्तिकै मान्यता दिने निर्णय गरेको थियो।

उक्त निर्णयबारे छलफल गर्न सोमबार पूर्वसभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा बसेको उक्त समूहको बैठकले संस्थापनको प्रस्तावलाई अस्वीकार गरेर अघि बढ्ने निर्णय गरेको नेता प्रकाशशरण महतले जानकारी दिए। देउवा पक्षले आफूले मंसिरका लागि घोषणा गरेको महाधिवेशनलाई अघि बढाउने निष्कर्ष निकालेको छ।

महतले असोज ३ र ४ गतको वडा अधिवेशनमा सहभागी भए केन्द्रीय सदस्यको हैसियत दिन्छौँ भन्ने निर्णय हास्यास्पद भएको टिप्पणी गरे।

दुवै पक्षले सामान्तर गतिविधि अघि बढाएका छन्। संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म खुलामञ्चमा १५औँ महाधिवेशन गर्ने निर्णय तयारी तीव्र पारेको छ। इतर पक्षले मंसिर २१ देखि २३ गतेसम्म गर्ने निर्णय गरेको छ। गत पुसमा विशेष महाधिवेशन गरेर गगनकुमार थापाले नेतृत्व सम्हालेपछि कांग्रेसमा आन्तरिक विवाद बढ्दै गएको छ।