काठमाडौं, भदौ २६ :

उपभोक्तालाई तोकिएको भन्दा बढी मूल्यमा ग्यास बिक्री गरी ठगी गर्ने  ‘अनिल किराना पसल’ लाई सरकारले ३ लाख जरिबाना गराएको छ।

कागेश्वरी मनोहरा नगरपालिका–६, बाबाचोकस्थित उक्त पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले सरकारी दररेटभन्दा बढी मूल्यमा ग्यास बिक्री गरिरहेको भेटेपछि कारबाही स्वरुप तत्काल जरिबाना गराएको हो। उक्त पसलका सञ्चालकले २ हजार ६० रुपैयाँ तोकिएको सुगम ग्यासलाई प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँमा बिक्री गरिरहेको पाइएको थियो ।

प्रतिसिलिन्डर ५ सय ४० रुपैयाँसम्म बढी असुल गरी कालाबजारी गरेको पुष्टि भएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम स्थलगत रूपमै ३ लाख रुपैयाँ जरिबाना गराइएको विभागका सूचना अधिकारी अनिल किरातीले जानकारी दिए ।

ग्यासको अभावको फाइदा उठाउँदै हुन सक्ने कालाबजारी रोक्न कागेश्वरी मनोहरा नगरपालिकाले पनि वडा-वडाका डिपो तथा किराना पसलहरूमा अनुगमन तीव्र बनाएको छ।

सर्वसाधारणलाई सहज रूपमा ग्यास तथा अत्यावश्यक उपभोग्य वस्तु उपलब्ध गराउन नगरपालिकाले मूल्य र मौज्दातको कडा निगरानी गरिरहेको छ। नगरपालिकाले तोकिएको मूल्यभन्दा बढी नतिर्न उपभोक्तालाई र नियम पालना गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ।