
कागेश्वरी मनोहरा नगरपालिका पूर्णरूपमा बालश्रममुक्त नगर बन्ने अभियानमा अघि बढेको छ। नगरपालिकाले नगरभित्रका वडालाई क्रमशः बालश्रममुक्त घोषणा गर्दै बालमैत्री स्थानीय शासन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको हो।
यसैक्रममा गत बुधबार वडा नम्बर ७ लाई बालश्रममुक्त वडा घोषणा गरिएको छ। बालमैत्री नगर निर्माण अभियानअन्तर्गत आयोजित कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्कीले कार्यवाहक वडाध्यक्ष भक्त थापालाई बालश्रममुक्त वडा घोषणा भएको प्रमाणपत्र हस्तान्तरण गरे।
बालश्रममुक्त वडा घोषणा गर्न आवश्यक २० वटा सूचक तथा मापदण्ड पूरा गरेको आधारमा वडा नम्बर ७ लाई बालश्रममुक्त घोषणा गरिएको नगरपालिकाले जनाएको छ। यसअघि नगरपालिकाले वडा नम्बर ५ लाई पनि बालश्रममुक्त वडा घोषणा गरिसकेको छ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कार्कीले बालश्रम, बालशोषण र बालहिंसा गम्भीर अपराध भएको उल्लेख गर्दै बालबालिकाको संरक्षण, विकास र अधिकार सुनिश्चित गर्न सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने बताए। बालमैत्री नगर निर्माणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
भोटेकोसी बाढीका कारण पूर्णरूपमा अनाथ भएका केही बालबालिकाको शिक्षा तथा समग्र जिम्मेवारी नगरपालिकाले लिने विषयमा छलफल भइरहेको जानकारी दिँदै कार्कीले विपद्का कारण बालबालिका थप जोखिममा पर्न नदिन स्थानीय सरकारले आवश्यक भूमिका निर्वाह गर्ने बताए।
कार्यवाहक वडाध्यक्ष थापाका अनुसार बालश्रममुक्त वडा घोषणा गर्न वडाभित्रका बालबालिकाको विस्तृत सर्वेक्षण गरिएको थियो। त्यस्तै, व्यवसाय तथा विभिन्न प्रतिष्ठानमा बालश्रम प्रयोग नभएको सुनिश्चितता, श्रममा संलग्न भेटिएका बालबालिकाको उद्धार, पारिवारिक पुनर्मिलन तथा पुनर्स्थापना र व्यवसायीबाट बालश्रम प्रयोग नगर्ने प्रतिबद्धता लिइएको थियो।
गरिबी, बेरोजगारी, अशिक्षा तथा प्राकृतिक प्रकोप बालश्रम बढ्नुका प्रमुख कारण रहेको थापाले बताए। अनुगमनका क्रममा श्रममा संलग्न बालबालिका भेटिए उद्धार गरी परिवारसँग पुनर्मिलन गराउने र पुनः विद्यालय पठाउने शर्तमा घर फर्काउने गरिएको उनले जानकारी दिए।
विपद्का समयमा बालबालिका अनाथ तथा असहाय बन्न सक्ने र त्यसका कारण उनीहरू बालश्रम तथा अन्य जोखिममा पर्न सक्ने भएकाले राज्यले पुनर्स्थापना र संरक्षणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने थापाको भनाइ छ।
कार्यक्रममा नगर उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, वडा नम्बर १ का अध्यक्ष मुकुन्द गजुरेललगायतले बालश्रम अन्त्य तथा बालमैत्री स्थानीय शासन प्रवर्द्धनमा जोड दिएका थिए। नगरपालिकाले आगामी दिनमा अन्य वडालाई समेत क्रमशः बालश्रममुक्त घोषणा गर्दै लैजाने योजना बनाएको छ।