काठमाडौं, भदौ २५ :

कागेश्वरी मनोहरा नगरपालिकाले नगरवासीलाई स्थानीय तहमै करसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले छिट्टै व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान कार्ड) वितरण सेवा सुरु गर्ने भएको छ।

नगरपालिकाले आन्तरिक राजस्व कार्यालयसँग बुधबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेसँगै नगरपालिकाबाटै प्यानसम्बन्धी सेवा उपलब्ध गराउने बाटो खुलेको हो। आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएपछि सेवा सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ।

यस व्यवस्थापछि व्यक्तिगत प्यान, व्यावसायिक प्यान तथा उपभोक्ता समितिलाई आवश्यक प्यानकार्ड लिन आन्तरिक राजस्व कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्नेछ। स्थानीय स्तरमै सेवा उपलब्ध हुँदा समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ।

कागेश्वरी मनोहरा नगरपालिका यसअघि नै स्थानीय तहबाटै मालपोत तथा नापीसम्बन्धी सेवा सञ्चालन गर्ने अग्रणी नगरपालिकाका रूपमा अघि बढेको थियो। नगरपालिकाले नागरिकलाई आवश्यक पर्ने सरकारी सेवाहरू स्थानीय तहमै उपलब्ध गराउने नीतिअनुसार थप सेवाहरू विस्तार गर्दै आएको जनाएको छ।

समझदारीपछि आयोजित कार्यक्रममा नगरप्रमुख उपेन्द्र कार्कीले नागरिकलाई सहज सेवा दिन नगरपालिका प्रतिबद्ध रहेको बताए। नयाँ सेवा सुरु गर्दा केही चुनौती तथा गुनासा आउन सक्ने भए पनि त्यसलाई सुधार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र पारदर्शी बनाउँदै लैजाने उनको भनाइ थियो।

नगरप्रमुख कार्कीले नगरपालिकाबाट भू–सेवा सञ्चालन गर्दा सुरुमा विभिन्न चुनौती देखिए पनि अहिले त्यसको सकारात्मक परिणाम देखिन थालेको बताए। उनका अनुसार विगतमा लिखत पासका लागि सेवाग्राहीले रु. ५ हजारदेखि १० हजारसम्म खर्च गर्नुपर्ने अवस्था रहेकामा अहिले नगरपालिकाबाटै रु. १ हजार ५ सयदेखि ३ हजारसम्ममा सेवा लिन सकिने अवस्था बनेको छ।

असार महिनामा मात्रै नगरपालिकाबाट ५ सयभन्दा बढी लिखत तयार भएको जानकारी दिँदै कार्कीले स्थानीय तहबाटै सेवा उपलब्ध हुँदा नागरिकको समय र आर्थिक भार घटेको बताए।

उनले नयाँ सेवा सञ्चालनका क्रममा कर्मचारी तथा जनप्रतिनिधिको कार्यशैली र निष्ठामाथि प्रश्न उठ्ने अवस्था आउन सक्ने भए पनि कमजोरीलाई सुधार गर्दै पारदर्शी रूपमा सेवा प्रवाह गरिने प्रतिबद्धता व्यक्त गरे।

यसैगरी, नगर उपप्रमुख शान्ता थापाले नयाँ सेवा तथा व्यवस्थापन सुरु गर्दा प्रारम्भिक चरणमा केही समस्या र ढिलाइ देखिन सक्ने बताइन्।आम नागरिकलाई अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य गरी एकै ठाउँबाट सहज रूपमा सेवा प्रवाह गर्ने लक्ष्य राखिएकाले धैर्य गर्न नागरिकलाई आग्रह गर्दै उनले खटिने कर्मचारीहरूलाई ध्यानपूर्वक र जिम्मेवार भएर सेवा दिन निर्देशन दिइन्।

यसैगरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले संवैधानिक अधिकार र लक्ष्य अनुरूप जनताको घरदैलोमै सुलभ सेवा पुर्‍याउन नगरपालिका हरदिन तत्पर रहेको बताए।समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएसँगै आवश्यक प्राविधिक तयारी पूरा गरी तत्कालै व्यक्तिगत, व्यावसायिक तथा उपभोक्ता समितिका लागि आवश्यक प्यान कार्ड सेवा सुरु गरिने सुवेदीले जानकारी दिए। आगामी दिनमा सङ्घीय सरकारका अन्य निकायहरूसँग समन्वय गरी स्थानीय स्तरबाटै दिन सकिने थप सेवाहरू पनि क्रमशः थप्दै लगिने नगरपालिकाले जनाएको छ।