काठमाडौं, भदौ २५ :

एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष क्रिकेट टोलीले आज ओमानविरुद्ध खेल्दैछ ।

यी दुई टोलीबीचको खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा जारी छ ।

ओमानका कप्तान विनायक शुक्लाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

समूह ‘ए’ को विजेता नेपाल फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल समूह चरणमा तीन खेल जित्दै सेमिफाइनलमा पुगेको हो । नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दा हङकङसँग भने हार व्यहोरेको थियो ।

समूह चरणको नतिजा नेपालका लागि सन्तोषजनक रह्यो । यद्यपि ब्याटिङमा भने नेपालले अपेक्षित सुधार देखाउन सकेन । त्यसैले नेपालका लागि ओमानसँगको खेलमा ब्याटिङ मुख्य चुनौतीका रूपमा रहने क्रिकेट विश्लेषक रवि तिमिल्सिना बताउछन् ।

“नेपालले समूह चरणमा आशा गरेअनुसार ब्याटिङ गर्न सकेको थिएन । टोलीले त्यसमा सुधार गर्दै सेमिफाइनलमा उत्कृष्ट पुनरागमन गर्नुपर्छ”, उनले भने ।

नेपाल र ओमानबीचको विगत

हालसम्म नेपाल र ओमानबीच एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा १० खेलमा भेट भएको छ । जसमा नेपालले चार खेल र ओमानले ६ खेलमा जित निकालेको विगत छ ।

पछिल्लो पटक नेपालले ओमानविरुद्ध गत मे महिनामा ओमानविरुद्ध खेलेको थियो । उक्त आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजमा नेपालले ओमानविरुद्ध ८१ रनको सानदार जित निकालेको थियो ।

नेपाल आज पनि सोही लय दोहोर्याउँदै ओमानलाई हराएर फाइनलमा स्थान बनाउने योजनामा छ ।