काठमाडौं, भदौ २२ :

भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभर राष्ट्रिय शोक मनाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार आज देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइएको हो।

राष्ट्रिय शोकका अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाले पनि कार्यालय भवन अगाडिको पोलमा रहेको राष्ट्रिय झन्डा आधा झुकाएको छ। नगरपालिकाले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ।

भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै सयौं नागरिक विस्थापित भएका छन्। बाढीका कारण प्रभावित भएका परिवारको सहयोगका लागि कागेश्वरी मनोहरा नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७५ लाख ५५ हजार रुपैयाँ जम्मा गरिसकेको छ।

स्थानीय तहबाट गरिएको सहयोगमध्ये कागेश्वरी मनोहराले उल्लेख्य तथा सबैभन्दा ठूलो सहयोग गरेको नगरपालिकाको दाबी छ। नगरपालिकाले बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धारका कार्यमा सहयोग गर्दै आएको छ।

यसअघि नै नगरपालिकाले भोटेकोसी बाढीमा परी आफ्ना नगरवासी कोही सम्पर्कविहीन भएको भए तत्काल जानकारी गराउन आग्रह गर्दै खोज तथा उद्धारका लागि सम्पर्क व्यक्ति समेत तोकेको थियो। नगरपालिकाले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने जनाएको छ।