नुवाकोट, भदौ १९ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ ।

अध्यक्ष ओली नेतृत्वको टोलीले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीडितको अवस्था, उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिएको पार्टीका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले बताए ।

पूर्वप्रधानमन्त्री ओलीले पार्टी र आफ्नो तर्फबाट संसद तथा सरकारमा पीडितको आवाजलाई सबैभन्दा पहिलो प्राथमिकताका साथ उठाउने र आवश्यक सम्पूर्ण राहत सामग्रीको निरन्तर आपूर्ति सुनिश्चित गर्ने दृढ प्रतिबद्धता व्यक्त गरे। एमालेले प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा ४० सदस्यीय बाढीपीडित उद्धार, राहत तथा पुनस्र्थापना सहयोग समिति गठन गरेको छ ।

अकल्पनीय एवं विनासकारी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनस्र्थापना कार्यलाई तीव्रता दिन पार्टीका तर्फबाट एमालेले रु एक करोड २० लाख सरकारको कोषमा सहयोग गर्ने घोषणा गरेको छ ।

यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।