
गृहमन्त्री सुधन गुरुङले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको बताउँदै यसमा चिन्ता नलिन आग्रह गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले अनलाइनबाट हरेक ४ घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू भइरहेको बताए । डिजिटल माध्यमको प्रयोगले प्रशासनिक र उद्धारका कामहरू टेबल पछाडि बसेर भन्दा धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको उनको दाबी छ। उनले भनेका छन्, ‘म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन अनुरोध गर्न चाहन्छु।’
फिल्डको वास्तविक यथार्थ नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम देशले वर्षौँदेखि भोग्दै आएको भन्दै उनले पुरानो कार्यशैलीको उनले आलोचना गरेका छन्।
विपद् व्यवस्थापन र राज्य सञ्चालनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भइरहेको आलोचनाको जवाफ दिँदै गृहमन्त्री गुरुङले ‘कुर्सीमा बसेर कागजात समात्ने’ पुरानै शैलीको नेतृत्व खोज्नेहरूलाई ‘गलत युग’ मा रहेको र यो जेनेरेसन ग्याप रहेको टिप्पणी गरेका छन्। भोटेकोसी बाढीपछिको उद्धार कार्यमा गृहमन्त्रीको कार्यशैलीलाई लिएर राजनीतिक वृत्त र सामाजिक सञ्जालमा विभिन्न टिक्काटिप्पणी भइरहेको छ ।