
काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित पेप्सिकोला फुटबल ग्राउण्ड नजिकै गएराति आगलागी भएको छ। उक्त क्षेत्रमा सञ्चालित 'ब्याम्बु कटेज' र 'केक मन्डु' मा अचानक विद्युतीय सर्ट भई आगो फैलिँदा दुवैमा भौतिक क्षति भएको छ।
आगलागीको सूचना प्राप्त हुनासाथ कागेश्वरी मनोहरा नगरपालिकाको दमकल सबैभन्दा अगाडि बिहान १:०५ बजे घटनास्थलमा पुगेको थियो। आगोको रूप भयानक बन्दै गएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल , नेपाल प्रहरी, नगर प्रहरी र विभिन्न निकायबाट आएका अन्य दमकलहरूको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो।
भीषण आगोका कारण चारवटा ग्यास सिलिण्डर विष्फोट भएको जनाइएको छ। सुरक्षाकर्मी र दमकल टोलीको लगातारको प्रयासपछि करिब दुई घण्टाको प्रयासपछि आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ।
भौतिक क्षति भए पनि मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको कुल भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने कार्य हाल भइरहेको छ।