काठमाडौं, भदौ १८ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको विपद् व्यवस्थापनमा सरकारलाई बल पुग्ने गरि काम गर्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा सचिवालय बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसबाट सिर्जित अवस्थाबारे समिक्षा गर्दै विपद् व्यवस्थापनमा सरकारलाई बल पुग्ने गरी काम गर्ने निर्णय गरेको हो । बैठकमा सरकारमा पार्टीको प्रतिनिधित्व गरिरहनुभएका उपसभापति एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खोजी, उद्धार, राहत तथा सरकारी कार्यप्रगतिको जानकारी गराएका थिए । विपद् व्यवस्थापन तथा राहतका लागि सरकारको कोषमा हालसम्म ८ अर्ब रुपैयाँ संकलन भएको जानकारी प्राप्त भएको रास्वपा प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।

त्यस्तै सिमित स्रोतसाधनका बाबजुद सरकारले उद्धार र राहतमा देखाएको अगुवाई र तदारुकताप्रति सचिवालय बैठकले सन्तोष व्यक्त गर्दै धन्यवाद दिएको उनले बताए । खोजी र उद्धारलाई निरन्तरता दिँदै अब प्रभावितहरूको पुनस्र्थापना तर्फ पनि सँगसँगै तयारी अघि बढाउनुपर्नेमा बैठकले जोड दिएको प्रवक्ता खरेलले बताए।

बैठकमा पार्टी सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल र राजनीतिक दलहरूले देखाएको ऐक्यबद्धताबारे ब्रिफिङ गर्नुभएको प्रवक्ता खरेलले जानकारी दिए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि दीर्घकालीन रूपमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्ने पार्टीको निष्कर्ष रहेको उनको भनाइ छ । साथै रास्वपाले तिनै तहका सरकारलाई दरिलो र पूर्ण साथ दिने निर्णय गरेको उनले बताए ।