काठमाडौं, भदौ १७ :

रसुवा बाढीपीडितको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन आवश्यक उपकरणसहित अमेरिकी सेनाको टोली नेपाल आइपुगेको छ। अमेरिकी सेनाका दुईवटा विमानमार्फत टोली नेपाल आएको हो।

टोलीले उद्धार तथा राहतका लागि आवश्यक साना लोडरसहितका उपकरण ल्याएको  छ। पर्याप्त प्रविधि र उपकरणको अभावमा जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार प्रभावकारी रूपमा अघि बढ्न नसकिरहेका बेला अमेरिकी सेनाको उपकरणसहितको टोली नेपाल आएपछि उद्धार कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। अमेरिकी सेनाको टोलीले नेपाली सेनाको नेतृत्वमा भइरहेको खोज, उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग गर्ने जनाइएको छ।

बाढी आएको आठ दिन बितिसक्दा पनि जलविद्युत् आयोजनाका सुरुङभित्र फसेको भनिएका व्यक्तिहरूको प्रभावकारी उद्धार हुन सकेको छैन। सुरुङभित्र फसेका आफन्तको उद्धारमा ढिलाइ भएको भन्दै परिवारजनले सरकारप्रति आक्रोश व्यक्त गर्दै आएका छन्। प्रधानमन्त्री बालेन शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा हाल उपलब्ध स्रोतसाधनबाट सुरुङभित्र प्रवेश गरी उद्धार गर्न सक्ने अवस्था नरहेको जानकारी गराएका थिए।

अमेरिकी राजदूतावासका अनुसार रसुवामा भदौ १० गते आएको बाढीपछि उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन अमेरिकाबाट ५ हजार आवश्यक सामग्री नेपाल ल्याइएको छ।दूतावासले बाढी प्रभावितका लागि ३६ लाख अमेरिकी डलर बराबरका थप सामग्री यसअघि नै नेपाल ल्याइसकिएको जनाएको छ।

उपकरण तथा प्राविधिक सहयोग थपिएसँगै सुरुङलगायत जोखिमपूर्ण स्थानमा रोकिएको उद्धार कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।