काठमाडौं, भदौ १६ :

पूर्व गिरोह प्रमुख डुआन “केफे डी” डेभिसलाई र्‍याप सुपरस्टार टुपाक शकुरको हत्या योजनाबद्ध रूपमा गराएको अभियोगमा दोषी ठहर गरिएको छ।

यो करिब ३० वर्षदेखि हिप-हप संगीतका प्रशंसकहरूको चासोको विषय बनेको कोल्ड केस मा भएको पहिलो दोषसिद्धि हो।

लस भेगासमा ७ सेप्टेम्बर १९९६ मा भएको गाडीबाट गोली चलाएर गरिएको आक्रमणमा टुपाक शकुरको मृत्यु भएको घटनामा जुरीले डेभिसलाई घातक हतियार प्रयोग गरी हत्या गरेको एक अभियोगमा दोषी ठहर गरेको हो।

३ दशकसम्म यो मुद्दा अमेरिकाका सबैभन्दा चर्चित ‘कोल्ड केस’मध्ये एकका रूपमा रह्यो। यसले अनगिन्ती षड्यन्त्रका सिद्धान्तहरूलाई जन्म दियो, तर अहिलेसम्म कसैलाई दोषी ठहर गरिएको थिएन।

कालो सुटमा अदालतमा उपस्थित ६३ वर्षीय डेभिस फैसला सुनाउँदा शान्त रूपमा उभिएका थिए। त्यसपछि उनले आफूले फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन्। शकुरका आफन्तहरूले एकअर्काको हात समातेका थिए भने केहीले एकअर्कालाई अँगालो हाल्दै रोएका थिए।

शकुरको हत्या हुँदा उनी २५ वर्षका थिए र आफ्नो करियरको उत्कर्षमा थिए। उनी र्‍याप संगीतका सबैभन्दा प्रभावशाली आवाजमध्ये एक मानिन्थे। उनले विश्वभर ७ करोड ५० लाखभन्दा बढी रेकर्ड बिक्री गरेका छन्।

अभियोजन पक्षले सुनुवाइका क्रममा तर्क गरेको थियो कि साउथ साइड कम्प्टन क्रिप्स सडक गिरोहका पूर्व नेता डेभिसले शकुरलाई मार्ने गोली आफैं नचलाए पनि गोली चलाउने आदेश दिएका थिए। साथै, उनका भतिजा ओर्लान्डो एन्डरसनले गोली प्रहार गर्न प्रयोग गरेको बन्दुक पनि डेभिसले उपलब्ध गराएको अभियोजन पक्षको दाबी थियो।

अभियोजन पक्षका अनुसार, शकुर र उनका साथीहरूको समूहसँग लस भेगासमा घटना हुनुभन्दा केही घण्टाअघि एन्डरसनको झगडा भएको थियो। त्यसैको बदला लिन डेभिसले शकुरमाथि गोली चलाउने योजना बनाएको उनीहरूले अदालतमा बताएका थिए।

३ दशकसम्म यो मुद्दा अमेरिकाका सबैभन्दा चर्चित ‘कोल्ड केस’मध्ये एकका रूपमा रह्यो। यसले अनगिन्ती षड्यन्त्रका सिद्धान्तहरूलाई जन्म दियो, तर अहिलेसम्म कसैलाई दोषी ठहर गरिएको थिएन।

शकुरको हत्या यस्तो समयमा भएको थियो, जब अमेरिकाको इस्ट कोस्ट र वेस्ट कोस्ट र्‍याप संगीतबीच तीव्र प्रतिस्पर्धा थियो। त्यही समयमा ब्लड्स र क्रिप्स गिरोहबीचको द्वन्द्व पनि चर्किएको थियो, जसको हिप-हप संगीतको क्षेत्रमा त्यतिबेला गहिरो प्रभाव थियो।

फैसला सुनाइएपछि अदालतमा शकुरका परिवारका सदस्यहरू भावुक देखिए। उनकी बहिनीले फैसला सुनाउने अभियोजन पक्षका एक वकिललाई अँगालो हालिन् भने नजिकै बसेका अन्य आफन्तहरू रोइरहेका थिए।

अदालतबाहिर शकुरका समर्पित प्रशंसकहरू रोइरहेका र खुसीले चिच्याइरहेका थिए।

यस मुद्दाको मुख्य प्रमाण डेभिसकै अभिव्यक्तिहरू थिए। उनले पटक–पटक सार्वजनिक रूपमा आफू त्यही सेतो क्याडिलाकभित्र रहेको स्वीकार गरेका थिए, जहाँबाट शकुरमाथि घातक गोली प्रहार गरिएको थियो।

 

सन् २००८ मा अर्का चर्चित र्‍यापर नोटो‍रियस बीआईजी (वास्तविक नाम क्रिस्टोफर वालेस) को मृत्युबारे गरिएको गोप्य प्रहरी अन्तर्वार्ताका क्रममा डेभिसले शकुरको मृत्युमा आफ्नो भूमिकाबारे अधिकारीहरूलाई बताएका थिए।

सन् २०१९ मा प्रकाशित आफ्नो आत्मकथा कम्पटन स्ट्रिट लेजेन्डमा डेभिसले यस घटनामा आफ्नो भूमिकाबारे थप विवरण दिएका थिए।

तर उनको पुस्तक र सञ्चारमाध्यमलाई दिएका अन्तर्वार्ताका कारण अधिकारीहरूसँग भएको सुरक्षात्मक सम्झौता निष्क्रिय भयो। उक्त सम्झौताले उनी विरुद्ध फौजदारी अभियोग दायर गर्न रोक लगाएको थियो। पछि अदालतले उनको प्रहरीसँगको अन्तर्वार्तालाई हत्यासम्बन्धी मुद्दामा उनी विरुद्ध प्रमाणका रूपमा प्रयोग गर्न सकिने फैसला गर्‍यो।

अन्तिम बहसका क्रममा अभियोजन पक्षका वकिल बिनु पलालले जुरी सदस्यहरूलाई डेभिसले आफैंले भनेका कुरामै विश्वास गर्न र उनलाई दोषी ठहर गर्न आग्रह गरे।

उनका अनुसार, डेभिसले वर्षौंदेखि वृत्तचित्र, आफ्नो आत्मकथा, पोडकास्ट र प्रहरीसँगको अन्तर्वार्तामार्फत आफू टुपाक शकुरको हत्याका लागि जिम्मेवार रहेको बताउँदै आएका थिए।

“उनी नै गोली चलाउने आदेश दिने व्यक्ति हुन् हरेक घटनाक्रममा हरेक विवरणमा उनी साउथ साइड क्रिप्सका नेता हुन्, पलालले जुरी समक्ष भने।

जब गोली चलाइँदा गोली चलाउने आदेश दिने व्यक्ति अगाडिको सिटमा बसेका हुन्छन् भने उनी जिम्मेवार छन् भन्नेमा कुनै शंका हुँदैन उनले भने।
मुद्दाको सुनुवाइभरि डेभिसका प्रतिरक्षा पक्षका वकिलहरूले उनका अभिव्यक्तिहरू वास्तविक नभई पुस्तक बेचेर पैसा कमाउने उद्देश्यले गरिएको बढाइचढाइ र बहादुरी देखाउने कुरा मात्र भएको विश्वास गर्न जुरी सदस्यहरूलाई मनाउने प्रयास गरेका थिए।

अन्तिम बहसका क्रममा उनका वकिल माइकल सान्फ्टले जुरीलाई आफ्ना मुवक्किललाई झूट बोल्ने व्यक्तिका रूपमा हेर्न आग्रह गरे, जसले पुस्तक बेच्नका लागि मनगढन्ते कथा सुनाएका थिए।

“यसको कुनै प्रमाण छैन,” उनले जुरीसमक्ष भने।

तर सोमबार मुद्दा जुरीसमक्ष पठाइएको केही घण्टामै जुरीले डेभिसलाई दोषी ठहर गर्ने फैसला सुनायो।

अदालतको सुनुवाइ सकिनुअघि क्लार्क काउन्टी जिल्ला अदालतकी न्यायाधीश कार्ली कियर्नीले डेभिसको सजाय सुनाउने मिति अक्टोबर १३ तोकिन्।

मुद्दासँग सम्बन्धित केही प्रक्रियागत चरणहरूबारे जानकारी दिइरहँदा डेभिसले हात उठाएर न्यायाधीशलाई बीचमै रोक्न खोजेको देखिन्थ्यो।

“म मेरा सामानहरू लिन चाहन्छु,” उनले न्यायाधीशलाई भने। उनले आफ्नो फोनलगायत केही व्यक्तिगत सामानको उल्लेख गरेका थिए।

त्यसपछि उनले भने, “म यस फैसलाविरुद्ध पुनरावेदन गर्न चाहन्छु।”

न्यायाधीशले उनलाई सजाय सुनाइसकेपछि पुनरावेदन गर्न सकिने कुरा स्पष्ट गरिन्।