
भोटेकोसीमा आएको बाढीका कारण नेपालतर्फ फसेका ९४ जना चिनियाँ नागरिकको उद्धार गरी चीन फर्काइएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले बाढी प्रभावित क्षेत्रमा फसेका ९४ चिनियाँ नागरिकको उद्धार गरी स्वदेश फर्काइएको जनाएको छ।
नेपालस्थित चिनियाँ दूतावासले नेपाल सरकारसँग समन्वय गरी उद्धार कार्यलाई तीव्रता दिने गरी काम भइरहेको जनाएको छ। दूतावासका अनुसार उद्धार कार्यमा सघाउन चीनबाट जनशक्ति नेपाल पठाइएको छ। उक्त टोलीमा सुरुङ उद्धारसम्बन्धी चार जना विज्ञसमेत रहेका छन्।
नेपाली पक्षसँगको समन्वयमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन चिनियाँ जनशक्ति परिचालन गरिएको दूतावासले जनाएको छ।
विपद् आएको छोटो समयमै चीनले आपत्कालीन प्रतिक्रिया संयन्त्र सक्रिय बनाएको र प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्निर्माणका काम अघि बढाइरहेको छ।
यसैबीच, उद्धार सामग्री बोकेका चीनका दुई वटा वाई–२० विमान नेपाल आइपुगेका छन्। ती विमानमार्फत विपद् प्रभावित क्षेत्रमा आवश्यक उद्धार तथा राहत सामग्री ल्याइएको दूतावासले जनाएको छ।