
रोल्पाको थबाङमा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । २ जना अझै बेपत्ता छन्। मृत्यु हुनेहरुमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुनमगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर छन् ।
यस्तै ३८ वर्षीया जुनकुमारी पुन, ९ वर्षीय अशिम पुन र ५ वर्षीय अशोक पुनको पहिचान खुलेको छ भने दुई जनाको पहिचान हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।
पहिरोमा परी गम्भीर घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको छ।
पहिरोले ९ वटा घर, १ घुम्ती पसल, २ वटा गोठ र १ वटा चर्च पुरिएको बताइएको छ। प्रहरीको विपद् उद्धार सामग्री र घटनास्थल अनुसन्धान टोलीसमेत परिचालन गरी बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।