
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा याङ्की उक्याबलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो। उनीसँगै सर्ट लिस्टमा डा. मुकुन्दप्रसाद पौड्याल, डा. सरोज कोइराला, सुमन सिंह बस्न्यात, जितेन्द्र धिताल, भक्तबहादुर शाही, मनोज पौडेल, र मधुप्रसाद भेटवाल थिए।
विकास अर्थशास्त्री उक्याब यसअघि लगानी बोर्डमै परामर्शदाताको रुपमा काम गरेको अनुभव छ । लगानी बोर्डको परामर्शदाता हुँदा उनले ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानीसम्बन्धी परियोजनामा संलग्न भएर काम गरेकी थिइन्। उक्याब सार्वजनिक नीति, दिगो विकास, जलवायु, आर्थिक विकास तथा लगानीका विषयको अन्तर्राष्ट्रिय विशेषज्ञका रूपमा परिचित छिन्। संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको प्यासिफिक कार्यालय (फिजी) मा सिनियर पोलिसी एडभाइजरको रुपमा काम गरेको उनको अनुभव छ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीति विषयमा स्नातकोत्तर तह अध्ययन गरेकी उनले संयुक्त राष्ट्रसंघीय प्रणालीमा विकास अर्थशास्त्र, मानव विकास, आर्थिक उत्थानशीलता, जलवायु नीति, दिगो विकास र सामाजिक सुरक्षाजस्ता विषयमा काम गरिसकेकी छन्।