बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश मधेस प्रदेश

धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी

सक्रिय न्युज · शनिबार, १६ साउन, २०८३ मा प्रकाशित
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
धनुषा, साउन १६ :

जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार आज बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो ।

यसअघि साउन १४ गते दिउँसो ३:३० बजे देखि जारी  गरिएको कर्फ्यु आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार आज बिहान १० बजेदेखि हटाइएको प्रशासनले जनाएको छ ।

कर्फ्यु हटाइए पनि शान्तिसुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३ क) बमोजिम चारकिल्लाभित्र एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ ।

प्रशासनले तोकेको चारकिल्लाअनुसार निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा उत्तरतर्फ लक्ष्मीनिया हटबजार चोकबाट पश्चिम सिउरजोडा चोक हुँदै पूर्वमा लक्ष्मीपुर बोबासम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एमक्यु स्टिलबाट ५०० मिटर पूर्वपेट्रोलपम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिकाबाट नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिउरजोडा-मोहीनी-मनिमण्डप-नेपाल नर्सरी-इरकोन जनकपुर-दुहमती पुल-बेला-कादरी मस्जिद क्षेत्र समेटिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लङ्घन गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगरपालिकामा जारी गरिएको कर्फ्यु आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आज सूचना जारी गरी जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम लगाइएको कर्फ्यु आदेश हटाइएको जानकारी दिनुभएको छ ।

सूचनाअनुसार लहान नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यु साउन १६ गते बिहान १० बजे देखि  हटाइएको हो । प्रशासनले सुरक्षा निकायसँगको समन्वय तथा स्थानीय अवस्थाको मूल्याङ्कनपछि कर्फ्यु हटाउने निर्णय गरिएको सूचनामा उल्लेख छ । कर्फ्यु हटाइएपछि लहान क्षेत्रमा जनजीवन क्रमशः सामान्य बन्दै जाने अपेक्षा गरिएको छ ।

यसअघि जिल्लामा उत्पन्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले साउन १४ गतेदेखि लहान नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो । प्रशासनले नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार