काठमाडौं, असार ९ :

हुलाक सेवा विभागले नेपालको पहिलो आधुनिक पुस्तकालय तथा स्थापनाकर्ता शान्ति मिश्रको तस्वीर अंकित हुलाक टिकट प्रचलनमा ल्याएको छ । मंगलबार विभागमा आयोजित एक कार्यक्रमकाबीच सूचना तथा सञ्चार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतद्वारा उक्त नयाँ हुलाक टिकटमा टाँचा लगाइन् ।

 नेपालको प्रथम महिला प्राध्यापक समेत भएकी शान्ति मिश्रले आफ्नो पद छाडी विश्वविद्यालयको आवश्यकता अनुसार अन्तराष्ट्रिय स्तरमा नै ख्याति हुने गरी आधुनिक पुस्तकालय निर्माण गरी योगदान गरेको कदरस्वरुप उनको तस्वीरअंकीत हुलाक टिकट प्रकाशन गरिएको विभागले जनाएको छ ।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव बस्नेतले पुस्तकालय विज्ञानमा एमए गर्ने प्रथम नारी तथा प्रथम महिला लाइब्ररियनको रुपमा मिश्रको योगदानको चर्चा गरिन् । साथै उनले हुलाक सेवा विभागलाई आवश्यक बजेटको कमी हुन नदिन आफूले पहल गर्ने प्रतिबद्धता जनाइन्।

त्यसैगरी हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले त्रिभुवन विश्वविद्यालयमा रहेको आधुनिक पुस्तकालयको सुरुवातका लागि मिश्रले गरेको भूमिका प्रशंसनीय रहेकाले कदरस्वरुप विभागले टिकट प्रकाशन गरिएको बताइन् । उनले स्वर्गीय शान्ति मिश्रको तस्वीर अंकित हुलाक टिकट प्रकाशन भएसंगै उनको योगदानको निरन्तर स्मरण हुने धारणा राखिन्।