
मेस्सी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्। उनले अर्जेन्टिनाले अस्ट्रियामाथि २–० को जित हासिल गरेको खेलमा आफ्नो विश्वकप करियरका १७औँ र १८औँ गोल गरेका हुन्।
यी दुई गोलसँगै मेस्सीले मिरोस्लाभ क्लोज र मार्टाको कीर्तिमानलाई पछि पार्दै विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान कायम गरेका छन्।
मेस्सीको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
गए राती सम्पन्न खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलअन्तरले पराजित गरेको हो ।
अमेरिकाको डालास स्टेडियममा मेस्सीले खेलको ३८औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै आफनो देशको जित सुनिश्चित गरे । जितसँगै अर्जेन्टिनाका कप्तान मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
मेस्सीले आजको खेलसँगै विश्वकपमा १८ गोल गरिसकेका छन् । यसअघि अल्जेरियाविरुद्धको पहिलो खेलमा अर्जेनिन्टना विजयी हुँदा मेस्सीले ह्याट्रिक गोल गरेका थिए । समूह ‘जे’ मा रहेको अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै ६ अङ्क जोडेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै पराजित अष्ट्रिया दुई खेलबाट ३ अङ्क जोड्दै दोस्रो स्थानमा छ । यसै समूहमा रहेका जोर्डन र अल्जेरिया अङ्कबिहीन छन् । उनीहरुले समान एक÷एक खेल खेलेका छन् ।